काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन कीर्तिपुरमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा विद्यार्थीहरूलाई सूचना प्रविधिसँग अभ्यस्त भई एमालेको जनताको बहुदलीय जनवाद र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभिभारामा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन् । उनले अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संग्रह घोषणा गर्न बाध्य बनाइएको ऐतिहासिक भूमिकाको पनि स्मरण गरे ।
प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा, सुदृढीकरण र यसलाई गतिशील बनाउनका लागि विद्यार्थीका नाममा हुने तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी जस्ता हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुलाई कुनै छुट नहुने स्पष्ट पारे। उनले भने, “बाटोमा हिँड्दा तपाईँहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरुले चिनुन्। म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन।”
ओलीले एमालेप्रति भ्रम फैलाउने र “पार्टीभित्र एकता हुनु हुँदैन, चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ” भन्ने जस्ता प्रवृत्ति रहेको उल्लेख गर्दै पार्टीभित्र एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा लक्ष्यमा प्रभावकारीरुपमा अघि बढ्न सकिनेमा जोड दिए । उनले मिल्नै नसक्ने अवस्थामा मात्रै मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार सुरक्षित रहेको भन्दै पार्टीभित्र अनावश्यक रूपमा झ्याम्टा बजाएर लोकतन्त्रको बहाना बनाउन नहुनेमा जोड दिए ।
महाधिवेशन सुरु भएसँगै अनेरास्ववियुको नयाँ नेतृत्वबारे पनि चर्चा चुलिएको छ। पार्टीले ३२ वर्षे उमेर हद लगाएका कारण धेरै विद्यार्थी नेताहरू यो महाधिवेशनपछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिने अवस्था छ ।
अध्यक्ष पदका लागि चारजनाको प्रबल दाबेदारी देखिएको छ । डा. सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दिपक धामीले अध्यक्षमा दाबी प्रस्तुत गरेका छन्। नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलका अनुसार, सर्वसम्मत नेतृत्व चयनका लागि यी दाबेदारहरूबीच अनौपचारिक छलफल चलिरहेको छ ।
हाल महाधिवेशनको उद्घाटन मात्र भएको र मनोनयन दर्ता भइनसकेकाले थप प्रक्रिया बाँकी नै छ । यस महाधिवेशनबाट ११ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।
महाधिवेशनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
पूर्व अध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल र समिक बडाल अध्यक्ष मण्डलमा रहेका छन् ।