काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्काको म्याद थप गर्ने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
यस मुद्दामा पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठ पनि अभियुक्त कायम भएका छन्। यस्तै राजेन्द्र श्रेष्ठ, धवीन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठ पनि यस मुद्दामा अभियुक्त कायम भएका छन्।
चिनियाँ ठेकेदार कम्पनी, उक्त कम्पनीका सिनियर डाइरेक्टर लङ योङ र म्यानेजर हुवाङ ओई पनि अभियुक्तको सूचीमा छन् । अख्तियारले यो प्रकरणमा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो दाबी गरेको छ ।
टेलिकमले प्रतिस्पर्धाविना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको विषयमा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान सुरु गरेको थियो। २०७९ पुसमा भएको उक्त ठेक्का सम्झौताअनुसार एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने अवस्था सिर्जना भएको थियो।
नेपाल टेलिकम सञ्चालक समितिले २०७९ पुस २४ गते बिलिङ प्रणालीको सेवा उपलब्ध गराइरहेको एसिया इन्फो नामक कम्पनीसँग चार वर्षका लागि वार्षिक मर्मतसम्भार सम्झौता (Annual Maintenance Contract – AMC) गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले आवश्यकता परेमा थप एक वर्ष उक्त सम्झौताको म्याद बढाउन सकिने प्रस्तावलाई समेत अनुमोदन गरेको थियो।
बिलिङ प्रणाली टेलिकम सेवाका लागि अत्यावश्यक मानिन्छ। यो प्रणालीविना टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन सक्दैन। कुनै उपभोक्ताले अर्को व्यक्तिलाई फोन गर्दा बिलिङ प्रणाली हुँदै सम्पर्क स्थापित हुन्छ, र पर्याप्त ब्यालेन्स नहुँदा पनि यही प्रणालीले अर्को व्यक्तिसँग सम्पर्क गर्ने सुविधा दिँदैन।

























