काठमाडौं । संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहीन भएको छ।
आइतबार सिंहदरबारमा भएको छलफलमा सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग भेटवार्ता गरेका थिए ।
छलफलका क्रममा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले आ-आफ्नो अडान दोहोर्याएका छन् । सत्तारुढ दलका तर्फबाट एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेसका प्रमुख सचेतक घिमिरेले विपक्षी दलले माग गरेअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्न नसकिने अडान राखेका थिए ।
जवाफमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने आफ्नो अडान दोहोर्याए । यद्यपि, उनले आजै विपक्षी दलहरूको बैठक बस्ने र त्यसपछि यस विषयमा थप धारणा सार्वजनिक गर्ने बताए ।
सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति जुटाउन पटकपटक संसद बैठक स्थगित गरे पनि निकास ननिस्किएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । संसद अवरोधका कारण बजेटमाथिको छलफल सुरु हुन नसकेको भन्दै उनले संवैधानिक सीमा र व्यावहारिक पक्षलाई ध्यान दिन दलहरूलाई आग्रह गरे।