काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा अघि बढ्न नसकिरहेको अवस्थामा प्रचण्डले विपक्षी दलहरूसँग छलफलका लागि यो बैठक आह्वान गरेका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, यो बैठक आज मध्याह्न १२ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन्, तर सत्तारुढ दल यसमा सहमत हुन सकेका छैनन्।
यही विवादका कारण जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ। यद्यपि, जेठ १५ गते विपक्षी दलहरूले बजेट प्रस्तुतिका क्रममा भने संसद बैठकमा अवरोध गरेका थिएनन् । त्यसपछि भने बजेटमाथिको छलफल प्रतिनिधि सभामा अगाडि बढ्न सकेको छैन ।
संसदमा जारी अवरोध हटाउने विषयमा शनिबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता समेत भएको थियो। उक्त भेटमा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थियो ।
प्रचण्डले सत्तारुढ दलका नेताहरूसँगको भेटमा भएका संवादका विषयमा पनि विपक्षी दलहरूलाई जानकारी गराउनेछन् ।

























