काठमाडौं । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै देशभरका निजामती कर्मचारीहरूले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
यो आन्दोलन ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ को अगुवाइमा थालिएको हो । यस समितिमा प्रमुख राजनीतिक दलहरूसँग आबद्ध विभिन्न कर्मचारी संगठनहरू संलग्न छन् । नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, साथै स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेसी निजामती कर्मचारी मञ्च यस निर्देशक समितिका सदस्य रहेका छन्।
निर्देशक समितिको जेठ २० गते अम्बादत्त भट्टको अध्यक्षतामा बसेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि विभिन्न आन्दोलनका कार्यक्रम तय गरेको थियो । सोही बैठकले जेठ २५ गते देखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीहरूले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीले जानकारी दिएअनुसार, सोही निर्णयअनुसार आजदेखि देशभरका कर्मचारीहरूले कालोपट्टी बाँधेरै सेवा प्रवाह गरिरहेका छन् ।

























