काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी तथा पत्रकार टिकाप्रसाद भट्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासुका रूपमा कार्यरत भट्टले पत्रकारको आवरणमा सरकारी कर्मचारीलाई धम्क्याउने र आर्थिक लाभ लिने कार्य गरेको आरोप लागेको छ ।
अख्तियारका अनुसार, साउन २०४९ सालदेखि अस्थायी खरिदारको रुपमा सेवा सुरु गरेका भट्टले अनिश्चितकालीन म्याद थप गर्दै नगर विकास समिति, कान्तिपुर दैनिक, विभिन्न सहकारी संस्था र विज्ञापन एजेन्सीमार्फत एकसाथ पारिश्रमिक लिंदै आएका थिए । उनले आफ्नो कर्मचारी परिचय लुकाएर पत्रकारको हैसियतमा भ्रमण भत्ता, काज र अन्य सेवा सुविधा लिएको अख्तियारको दाबी छ।
उनीमाथि १ करोड १५ लाख रुपैयाँ बराबरको गैरकानूनी लाभ लिएको आरोप छ। यसै मुद्दासँग सम्बन्धित रही भ्रष्टाचारमा संलग्न भएको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन प्रमुख अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे, सुरेश दाहाल लगायतविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।




















