काठमाडौं। संघीय संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल भइरहेको छ ।
संसद भवनमा उनीहरूबीच केहीबेर अघिदेखि वार्ता जारी रहेको नेताहरूले बताएका छन्। खड्कासँगको छलफलअघि अध्यक्ष प्रचण्डले विपक्षी दलका नेताहरूसँग पनि भेटवार्ता गरेका थिए ।
प्रचण्डको कार्यकक्षमा बसेको उक्त बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र नेकपा (एकीकृत समाजवादी) का नेताहरू सहभागी थिए। बैठकले ‘भिजिट भिसा’ प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुपर्ने निष्कर्ष निकालेको छ।
नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने गरी छलफल अघि बढेको छ। यस विषयमा नेताहरूले पुनः छलफल गर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि तय भए पनि बस्न सकेको छैन।

























