जनकपुरधाम। सप्तरीको सुरुङ्गा नगरपालिका-८, मल्हनमा डाका समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन्।
डाका समूहले घरधनी कन्तलाल चौधरीको हत्या गरेका हुन्। डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन्। चौधरीको उपचार हाल सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक वीरेन्द्र यादवका अनुसार, राति करिब १ बजे ५/७ जनाको समूहमा आएका डाकाहरूले कान्तलाल चौधरीको हत्या गरी उनको घरमा लुटपाट गरेका थिए। डाकाहरूले धारिलो हतियार प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।
चौधरीको घरबाट डाकाहरूले ५ तोला सुन, २ केजी चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेको प्रहरी निरीक्षक यादवले बताए। उनले घटनाबारे थप अनुसन्धान र डाकाहरूको खोजी भइरहेको जानकारी दिए।



















