काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रले सरकारसँग ‘लेनदेन’ गरी भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट पछि हटेको गम्भीर आरोप लगाएका छन् ।
प्रमुख सचेतक शाहीको आशंका छ कि सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटालाई पक्राउ पर्ने डरले माओवादी संसद खुलाउन लचिलो बनेको हो ।
उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने। सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी।” शाहीले यसलाई “शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण” भन्दै टिप्पणी गरेका छन्।
उनले देशमा विधिको शासन हुन्छ भन्नेहरूलाई यही उदाहरण हेर्न आग्रह गर्दै थपेका छन्, “अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन्। त्यही भएर भन्छु। अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ।” शाहीले अहिलेको अवस्था सुधार्नका लागि व्यवस्था नै सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
























