काठमाडौँ। संघीय निजामती सेवासम्बन्धी कतिपय प्रावधानहरूप्रति आपत्ति जनाउँदै सिंहदरबार केन्द्रित धर्ना गरिरहेका कर्मचारीहरूले जेठ २५ गते देखि देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
नेपाल निजामती कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरूले बिहीबार पनि पाँचौं दिन सिंहदरबारमा धर्ना कार्यक्रम जारी राखे। उनीहरूको मुख्य माग नागरिक सेवामैत्री र कर्मचारीमैत्री निजामती सेवा ऐन तत्काल जारी गरिनुपर्छ भन्ने छ।
कर्मचारीहरूको वृत्तिविकास सुनिश्चित गर्ने खालका प्रावधानहरू प्रस्तावित ऐनमा नभएको भन्दै उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निरन्तर धर्ना दिँदै आएका छन्।
नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले धर्ना कार्यक्रमको स्वरुप परिवर्तन गरी जेठ २५ गतेदेखि देशभर आन्दोलन गरिने बताए। “धर्ना कार्यक्रम सुरु गरेको आज पाँच दिन भयो। भोलिसम्म धर्नामार्फत सांकेतिक आन्दोलन गर्छौं। जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप फेरेर देशभर आन्दोलन गर्छौं,” उनले भने।
शाहले सरकारले आफ्ना कुरा नसुनेकोमा आक्रोश व्यक्त गर्दै भने, “हामी सिंहदरबारभित्र आन्दोलन गरिरहँदा र यही सिंहदरबारबाट देश चलाइरहँदा सरकारले हाम्रा कुरा सुनेको छौँ। हामीले सुनाउन नसकेको हो कि सुन्न नचाहेको हो।” उनले थपे, “त्यसकारण हामीले आगामी आइतबारदेखि आन्दोलनका नयाँ कार्यक्रमहरू ल्याउँछौं। ऐन तत्काल जारी होस्। त्यो ऐन जारी गर्नको लागि हामीसँग पनि सल्लाह र समन्वय गरेर हाम्रा मागहरू पनि पूरा गरियोस्। आम कर्मचारी र सेवाग्राहीको भावना समेटेर सेवामैत्री र कर्मचारीमैत्री निजामती ऐन ल्याइयोस्।”
निजामती कर्मचारीहरूको हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै विभिन्न ट्रेड युनियनहरूले लगातार आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन्।

























