काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा जारी गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले संसदको गतिरोध हटाउन रचनात्मक र सिर्जनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। यसका कारण बजेटमाथिको छलफल समेत सुरु हुन सकेको छैन ।
प्रवक्ता सापकोटाका अनुसार माओवादी केन्द्रको मुख्य माग भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने रहेको छ। यस विषयमा सरकारले कस्तो वातावरण बनाउँछ, त्यसैअनुसार अघि बढ्ने पार्टीको भनाइ छ। यसका लागि सरकार र अन्य प्रतिपक्षी दलहरूसँग पनि छलफल गरिने सापकोटाले बताए।
“मुख्य कुरा छानबिन हो, व्यक्ति विशेषमा हाम्रो त्यति धेरै ध्यान छैन,” सापकोटाले भने, “निरन्तर कुरा भइराखेको छ। यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको (संसद बैठक) स्थगित भएको छ। आज पनि मुख्य गरी सरकारसित र अर्कोतिर विपक्षी पार्टीहरू सित पनि कुराकानी गर्नुपर्ने छ।”
भिजिट भिसा प्रकरणलाई गम्भीर र महत्वपूर्ण विषय भन्दै सापकोटाले छानबिनका लागि वातावरण बनाउनु पर्ने र सदनमा छलफलको वातावरण पनि हुनुपर्ने विषयमा आजको छलफलमा निष्कर्ष निकालिएको बताए।
























