काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा पनि नआउने र छानविन समिति पनि नबन्ने नेकपा एमालेले स्पष्ट पारेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था नभएको र त्यो सम्भव पनि नभएको बताएका छन् । उनले छानबिन समिति बनाउन पनि आवश्यक नभएको स्पष्ट पारेका छन् ।
उनका अनुसार, विपक्षी दलहरूले संसदलाई अवरुद्ध पार्ने नियतले अपरिपक्व ढंगले विषय उठाएका छन् र त्यसबारे पुनर्विचार गर्नु आवश्यक छ। साथै उनले गृहमन्त्रीलाई संसदमा आफ्नो भनाइ राख्न वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोप लगाउँदै राजीनामाको माग गर्दै आएका छन् । उनीहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग समेत गरेका छन् ।
तर, सत्ता र विपक्षी दलबीचको तीव्र मतभेदका कारण संसद बैठक हिजो र आज दुबै दिन स्थगित भएको छ। संसद सचिवालयले अबको बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी दिएको छ ।
























