काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्न नपाई स्थगित गरिएको छ। सभामुखको सचिवालयले दिएको जानकारीअनुसार बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो ।
यसअघि मंगलबारको बैठक पनि बिना कार्यसूची बस्दै नबसी स्थगित गरिएको थियो। आजको बैठक दिउँसो १ बजेका लागि तय गरिएको भए पनि निर्धारित समयमा बैठक सुरु हुन सकेन। त्यसपछि बैठकलाई दिउँसो ३:१५ बजेसम्मका लागि सारिएको थियो, तर सो समयमा पनि बस्न नसकेपछि अन्ततः भोलिसम्मका लागि स्थगित गरिएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रमुख विपक्षी दलहरूले उनको राजीनामा र घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको मागलाई आफ्नो मुख्य अडान बनाएका छन्। यही विषयमा सत्ता र विपक्षी दलबीच सहमति नजुट्दा लगातार संसद अवरुद्ध भइरहेको छ।
पटक–पटक स्थगित हुँदै आएको बैठक कहिले नियमित सञ्चालनमा आउला भन्ने अनिश्चितता कायमै रहेको छ।
























