काठमाडौँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध दायर अपहरण र हत्या सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सम्पन्न भएको छ । यससँगै लामो समयदेखि हेर्दाहेर्दैमा रहेको मुद्दामा आजै आदेश आउने सम्भावना रहेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ सम्पन्न भएको हो। सापकोटा पक्षले यो द्वन्द्वकालीन मुद्दा भएकाले सत्य निरूपण तथा मेलमिलाप आयोगमा बुझाउनुपर्ने तर्क अघि सारेका छन्।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपश्चात हत्या गरिएको आरोपमा कारबाहीको माग गर्दै अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल र पत्रकार कनकमणि दीक्षितले रिट दायर गरेका थिए। २०६८ सालमा दायर गरिएका यी रिटहरूमध्ये केहीमा प्रारम्भिक आदेश दिँदै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो।
पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै अर्को रिट दायर गरेकी थिइन्। सापकोटाविरुद्ध हाल संवैधानिक इजलासमा तीनवटा छुट्टाछुट्टै मुद्दा विचाराधीन छन् ।
यता, सापकोटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि दायर गरेका थिए। सभामुख र मन्त्री बनाउने निर्णयविरुद्धको कानुनी लडाइँ पनि लामो समयदेखि न्यायिक प्रक्रियामा अल्झिएको छ।
आजको सुनुवाइसँगै अब अदालतको आदेशले यस बहुचर्चित मुद्दाको भविष्य निर्धारण गर्नेछ।

























