काठमाडौँ, । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई लिएर प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) अडानबाट पछि नहटेपछि सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय छलफल निष्कर्षविहीन बनेको छ।
संसद सञ्चालन सहज बनाउन सभामुख घिमिरेले सत्ता र विपक्षी दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल गरेका थिए ।
छलफलका क्रममा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग प्रत्यक्ष जोडिएको भन्दै गृहमन्त्री लेखकको राजीनामा अपरिहार्य रहेको अडान पुनः दोहोर्याए।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक पाण्डेले भने, “सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग यथावत् छ।”
राजीनामा मागमा कायम रहने विपक्षी दलको अडान र सत्तापक्षको प्रतिवादबीच सहमति नजुट्दा संसद गतिरोध अन्त्य गर्ने प्रयास असफल बनेको हो।

























