काठमाडौं । भिजिट भिसा प्रकरणले देशको राजनीति तातेका बेला गृहमन्त्री रमेश लेखकले आफू राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले संसदमा उपस्थित भई सबै सांसदका प्रश्नको जवाफ दिने बताउँदै त्यसका लागि विपक्षी दललाई आवश्यक वातावरण बनाइदिन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल हुँदा मन्त्री लेखकले समितिमा सीमित उत्तरले सबै सांसदको जिज्ञासा नमेटिने भएकाले संसदमै बोल्न पाउनु उपयुक्त हुने बताएका हुन् ।
उनले भने, “अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा साथीहरूले जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका साथीहरुलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले संसदमा बोल्न पाउनु पर्छ, म माथि उठेका सबै प्रश्नको जवाफ दिन तयार छु।”
विपक्षी दलले मन्त्री लेखकमाथि नै विवादको आरोप लगाउँदै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध पार्दै आएका छन् । तर लेखकले यो विषयमा आफू गम्भीर रहेको र संसदमा सवै सांसदहरुको जिज्ञासा मेटिने गरी जवाफ दिने दोहोर्याएका छन् ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।

























