काठमाडौं । नारायणचौरमा आज भएको राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । राजावादीको जुलुस बालुवाटारतर्फ अघिबढेपछि प्रहरीले रोकेको थियो । तर राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा जवरजस्ती जुलुस अघि बढेपछि प्रहरीले थापा पक्राउ गरेको छ ।
प्रहरीले घिस्याएर झ्यानाकुटी पार्दै पूर्वगृहमन्त्री समेत रहेका थापालाई भ्यानमा हालेर लगेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने चेतावनी दिएका छन् ।
प्रहरीले थापालाई नियन्त्रणमा लिएपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ । अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्दा रहेछन् हेर्छौं ?’
लिङदेनले आफूहरुको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिँदै थापालाई तत्काल ससम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुने पनि बताएका छन् ।
राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै यही जेठ १५ गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यो आन्दोलन निर्णायक हुने बताएका छन् ।
थापा प्रदर्शनकारीको नेतृत्व गर्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि उनी सहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

























