काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न सात बुँदे मागसहित चरणबद्ध आन्दोलन थालेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा हिजो चक्रपथमा एक घण्टा चक्काजाम गरेका उनीहरुले आज आइतबार माइतीघर मण्डलामा सवारीसाधनमा कालो व्यानर-झण्डा राखी विरोध र्याली निकालेका छन् ।
व्यवसायीहरूले गाडीमा कालो झण्डा राख्नुका साथै निधारमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्नुपर्ने, राइड सेयरिङ एप्स बन्द गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।
सडक ढाकेर गरिएको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको थियो ।
कालो झण्डा देखाएर ६ वटै प्रदेशबाट विरोध र्याली गरेका व्यवसायीहरूले जेठ १९ गतेसम्म मागहरू पूरा नभएमा देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द चेतावनी दिएका छन् ।

























