काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले रायलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरिएको जानकारी दिएका छन् ।
६५ वर्षीय रायलाई म्याद थपका लागि बाँके लगिँदै छ । सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेर ल्याइएको स्रोतको दावी छ ।
सल्यान घर भइ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० बस्दै आएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए ।
रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो ।
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन हाल राष्ट्र बैंकको नियन्त्रणमा छ ।
























