काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै संसदको अवरोध जारी राख्ने निर्णय गरेको सचिव लीलामणि पोखरेलले बताएका छन् ।
हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब चल्न नदिने पोखरेलले बताएका छन् ।
माओवादी केन्द्र, रास्वपालगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् । जेठ १५ गते भने बजेट ल्याउनै पर्ने सम्वैधानिक वाध्यता भएका कारण सरकारलाई सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए ।
बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने, वाइसीएलको महाधिवेशन र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतापछि नेता कार्यकर्ता समायोजन बारे छलफल भएको पोखरेलले बताएका छन् ।

























