काठमाडौं । रौतहटको एक इँटाभट्टमा जिउँदै मान्छे पोलेर ज्यान लिने मुख्य योजनाकार नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम बुधबार राति नै रिहा हुने भएका छन् ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले बुधबार कर्तव्य ज्यान मुद्दामा सफाइ दिएसँगै आलमलाई रिहा गर्न लागिएको नख्खु कारागारका जेल भीमराज कोइरालाले बताए ।
आलमलाई जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा चारवटा मुद्दामा जन्म कैदको फैसला सुनाएपछि सुरक्षाको कारण देखाउँदै नख्खु कारागारमा ल्याएर राखिएको थियो ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएपछि आलम छुट्न लागेका हुन् ।
जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएपछि उनी नख्खु जेलमा थिए ।