रुपन्देही । बुटवल उपमहानगरपालिका–११ होराइजन चोक नजिकै एक व्यक्तिले आफ्नै घरमा बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । सुरज कोइरालाले पूर्व पत्नीसहित दुई छोरीको बीभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले जनाकारी दिएका छन् ।
आज बिहान चार बजेतिर पूर्वपत्नी ३३ वर्षकी दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या भएको अवस्थामा शव फेला परेको र कोइराला पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।
एसपी श्रेत्रीका अनुसार दीपा बस्यालका हालका पति वैदेशिक रोजगारीमा छन् । एक्लै बस्दै आएका पूर्वपतिलाई भेट्न दीपा दुई छोरीलाई साथमै लिएर गएराति गएको बेला घटना भएको हो । मारिने दुई बालिका आरोपी कोइराला पट्टीका छोरी नभएको बताइएको छ ।
आरोपी कोइराला दाजुको हत्या कसुरमा १० वर्ष जेल बसेर केही समयअघि मात्रै छुटेका पाइएको प्रहरीले जनाएको छ । श्रीमान जेल परेपछि ती महिलाले दोस्रो बिहे गरेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार कोइराला केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।

























