काठमाडौं । नेकपा माओवादी केन्द्रमा १० वर्षपछि फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् । २०७२ असोज ९ मा माओवादीबाट अलग हुँदा पोलिटब्यूरो सदस्य थिए ।
२०७२ सालमा संविधान जारी भएसँगै डा.बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । उनीसँगै गंगानारायण श्रेष्ठले पनि पार्टी छाडेर नयाँ शक्तिमा लागेका थिए । नयाँ शक्ति पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा एकता गरेपछि उनी समाजवादी पार्टी नेपालको नेता बनेका थिए ।
समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी मिलेर जसपा नेपाल बनेको थियो । जसपा नेपालबाट पनि उनी बाबुरामसँगै फुटेर नेपाल समाजवादी पार्टीमा गएका थिए । नेसपाबाट डा. भट्टराईलाई हटाएर महिन्द्र यादव र गंगाले चलाएको उक्त पार्टीबाट पनि उनी महिन्द्रलाई छाडेर अलग्गै समूह लिएर आज माओवादीमा फर्किएका हुन् ।
श्रेष्ठसँगै माओवादी केन्द्रमा फर्किएका अरु नेताहरुको पदीय हैसियत भने टुंग्याउन बाँकी छ । ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् ।
माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ एउटा समूह लिएर माओवादी केन्द्रमा फर्किएका हुन् ।
नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।
श्रेष्टसहित प्रदेश सभाका २ सांसद पनि माओवादीमा बिलय भएका छन् । उनीहरु गत चुनावमा माओवादीकै चिन्हबाट निर्वाचित भएका थिए ।
























