काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ सालमा लुटेर र आतंक सिर्जना गरेर माओवादी पहिलो पार्टी बनेको बताएका छन्। गोदावरी आज नेकपा (एमाले) बाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीले तर्साएर आतंकको राज गरेको बताएका हुन्।
उनले भ्रष्टहरुले भ्रष्टाचारको ठूलो स्वर गर्नु निलज्ज स्वर भएको बताए। उनले २०६४ सालमा देश माओवादीमय नभई आतंकमय भएको उल्लेख गरे। उनले माओवादीका लडाकु क्याम्पमा राखेर, मार्च पास गराएर, मान्छे तान्दै कुट्दै, मार्दै तर्साएर २०६४ मा आतंकको राज गरेको धारणा राखे ।
ओलीले माओवादी अहिले ६४ को जस्तो हुन्छु भनेपनि ६४ अब कहिले नआउने र ठूलो हुन नसक्ने दाबी गरे। उनले आफूबारे अफवाह फैलाउने माओवादी केन्द्रका प्रचण्डलाई समावेश गरेर वाम एकताको पक्षमा आफू नरहेको स्पष्ट पारे। उनले भने,‘अफवाह फैलाउने प्रचण्ड हुन् । अफवाह फैलाउनेहरूसँग, एमालेलाई धुलो चटाउछौँ भन्नेहरूसँग के को वाम एकता ?’
उनले दुई तिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्दै एमालेको सरकार ढालेर कांग्रेससँग बिन्तीपत्र चढाउन जानेहरूसँग वाम एकता नहुने धारणा राखे।

























