काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १०८जना विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ ।
गत चैत १५ मा भएको राजावादीको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई मुद्दा चलाउन राय दिएको हो ।
राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको हो । तीनकुने घटनामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको छ ।
बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीले राय दिएको छ ।
कुल १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।अहिले ५३ जना प्रहरी हिरासतमा छन्। २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको हो।त्यसबाहेक प्रहरीले ३७ जनालाई हाजिर जमानीमा छाडेको थियो।
प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनमा १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने र त्यसमा १८ जना फरार रहेको उल्लेख छ ।

























