धनुषा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनबाट भोला यादव नेतृत्वको समूह निर्वाचित भएको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
उपाध्यक्ष पदमा पदमा तेजनारायण यादव ४३० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी जयप्रकाश सुनरैतले १६० मत पाए । सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे ।
उपसचिव पदमा सबिन विक्रम थापा र रुका कुमारी मिश्र तथा लेखा समिति संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भए ।
गत वैशाख २० गते नै जिल्ला अधिवेशनको एमालेका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेलले उदघाटन गरेका थिए । २२ गते राति निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो । तर उम्मेदवारको आन्तिम नामावली प्रकाशनलाई लिएर विवाद भएको थियो । त्यस क्रममा वैशाख २३ गते दिनभर दुईपक्षबीच तनाव र पटक–पटक झडप तथा कुटाकुट हुँदा पाँचजना घाइते भएपछि मतदान स्थगित भएको थियो ।
धनुषा जिल्लाको १३५ सदस्य कार्यसमिति चयनका लागि भएको मतदानमा ६२८ जना प्रतिनिधिले भाग लिएका थिए ।
भोला रघुवीर महासेठ निकट हुन् भने लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल निकट मानिन्छन् ।