काठमाडौं । सार्वजनिक लेखा समितिले गठन गरेको भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नेकपा (माओवादी केन्द्र) को प्रतिनिधित्व नरहेको विषय उठेको छ ।
माओवादी सांसद राजन दाहालले उपसमितिमा माओवादीको प्रतिनिधित्व नभएको बताए । सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै उनले उपसमितिमा माओवादीको प्रतिनिधित्व नगराइएको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेसकी सांसद मन्जु खाणको संयोजकमा गठित उपसमितिमा एमाले सांसद योगेश भट्टराई, रास्वपा सांसद मनीष झा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, एमाले सांसद अच्युतप्रसाद मैनाली, राप्रपा सांसद विक्रम पाण्डे, कांग्रेस सांसद श्यामकुमार घिमिरे र एमाले सांसद सराज अहमद फारुकी छन् ।
यस्तै चिनियाँ ठेकेदार कम्पनी सीसीएमसीले मंगलबार निकालेको विज्ञप्ति र भाषा शैलीप्रति रास्वपा सांसद मनीष झाले आपत्ति जनाए । संसदीय समितिलाई चुनौती दिएर निकालेको विज्ञप्ति छाप्ने सम्पादकलाई स्पष्टीकरण सोध्नुपर्ने उनको भनाइ थियो ।
बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले सिसीएमसीको विज्ञप्तिप्रति आपत्ति जनाए भने उक्त विज्ञप्तिमा खेद प्रकट गरिनुपर्ने विषय राखेका थिए ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले संसदीय समितिले गरेको अध्ययनलाई ठेकेदारले चुनौती दिएकोप्रति आपत्ति जनाएका थिए ।