काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक आज अपराह्न बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल भएपछि समितिको संयोजक अर्थमन्त्री विष्णु पौडेलले ४ बजेलाई बैठक बोलाएका कारण आज गभर्नरको टुंगो लाग्ने सम्भावना बढेको छ ।
समितिमा संयोजक पौडेलसहित निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । मन्त्रिपरिषद्को बैठकले उनीहरुमध्ये एक जनालाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त गर्नेछ।
ओली र देउवाबीच आजै बालुवाटारमा छलफल भएको थियो । सो छलफलको बीचमा उपप्रधान एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । गत चैत २५ यता गभर्नर पद रिक्त छ ।
मन्त्रिपरिषद्को वैठक पनि आज साँझ बोलाइएकाले आजै गभर्नर नियुक्त हुने सम्भवना बढेर गएको छ ।

























