काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार ओली र देउवाबीच हिजो नै भेट्ने कार्यक्रम भएपनि हिजो भेट हुन नसकेपछि आज भेट भएको हो । भेट आकस्मिक विशेष नभई नियमित भएको बताइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यको कारण हिजो देउवासँगको भेट आजका लागि सारिएको थियो । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको बताइएको छ ।
प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।
आजको भेटमा दुई नेताहरुबीच गभर्नर नियुक्तिको विषयमा कुराकानी भएको हुने सक्ने आँकलन गरिएको छ । गभर्नर नियुक्तिका विषयमा सत्ताधारी दुई दल एमाले र कांग्रेसबीच कुरा मिलिरहेको छैन ।
गत चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ । विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा मिल्न नसकेका कारण गभर्नर नियुक्ति हुन ढिलाई भइरहेको चर्चा सडकदेखि सदनसम्म पुगेको छ ।