काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने दावी गरेका छन् । आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले राप्रपासहितका दलहरु एकढिक्का भएर काठमाडौं उपत्यकाका प्रत्येक घरमा पुगेर सडकमा उत्रिन आह्वान गरेर लाखौ जनता उतार्ने बताए ।
सरकारले दमन गरे पनि पार नलाग्ने गरी जनता सडकमा उतार्ने बताउँदै थापाले भने, ‘एकप्रकारले भन्ने हो भने यो भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा हुन्छ । हामी भिडन्तमा जाँदैनौं तर सरकारले भिडन्तमा उतार्न उत्तेजित बनाउनसक्छ । हामी संयमित भएर शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाउँछौं । जनताको धेरैभन्दा धेरै उपस्थितिबाटै हामीले यो धरासायी हुन लागेको संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई ढाल्ने छौं ।’
राजावादीहरुले काठमाडौं उपत्यका जनजागरण यात्रा नाम दिएको यो अभियानको ८ गते बिहान शंखरापुर नगरपालिकालको साँखुमा भेला भएर सुरु गर्ने र काठमाडौं उपत्यकाका १५ वटा पालिकामा पुग्ने योजना बनाइएको छ । अन्तिम दिन जेठ ११ गते भक्तपुरको कमलविनायकमा पुगेर बिसर्जन हुने बताइएको छ ।
काठमाडौं महानगरको ३२ सै वडामा ८–१० दिनको बीचमा पहिलो काम घरदैलो कार्यक्रम नै गर्नुपर्ने बताउँदै थापाले सबै पार्टी एक ठाउँमा उभिएर, राष्ट्रिय झण्डा बोकेर, प्रत्येक घरमा पुगेर एकपटक सडकमा उत्रिनुस् भन्ने बताए ।