काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । सोमबार बसेको बैठकमा ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक,२०८१ माथि छलफल भएको थियो । छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलको सदूपयोग र संरक्षण गर्नका लागि आवश्यक कानुन व्यवस्था तर्जुमा गर्न सरकारले विधेयक ल्याएको बताए । उनले जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड लगायतमा विधेयक महत्वपूर्ण रहेको उल्लेख गरे ।

























