काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन् ।
गत शुक्रबारदेखि जारी सगरमाथा संवादको समापन सत्रमा उनले भनिन्, ‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ ।’
संवादका निष्कर्षको कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवशयक पर्ने उल्लेख गर्दै मन्त्री डा. राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको बताइन् ।
उनले भनिन्, ‘सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो सङ्कल्पको सम्झना गराओस् ।’
संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिइन् ।
उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन,संयुक्त राष्ट्रसंघको ८०औँ महासभा तथा यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप- ३० लगायत अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले बताइन् ।
सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी परराष्ट्रमन्त्रीले दिइन् । रासस