काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटवार्तामा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने ‘सगरमाथा संवाद’को सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत् र समस्यारहित एवं हार्दिक सम्बन्ध रहिआएको बताउँदै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्र रूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रसन्न रहेको बताए ।
गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको चिनियाँ टोलीले स्मरण गरे भने प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआयामिक र ऐतिहासिक रहेको उल्लेख गरेका छन् ।
नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले दुई देशबीच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।