विराटनगर । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सैह्य नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटका अवसरमा गृहमन्त्री लेखकले संविधान र व्यवस्थाको विरोध गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट पारे ।
संविधान कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरीको पहिचान गरी राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने उद्देश्यका साथ एक कार्यदल बनाउन लागेको उल्लेख गर्दै लेखकले संविधान संशोधन गर्नुपर्ने आवश्यकता बोध गरी चरणबद्धरुपमा छलफल–बहस भइरहेको बताए ।
गृहमन्त्रालय अन्तर्गत विभिन्न नीतिगत तथा कानुनी सुधारका पक्षमा प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँंदै मन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिकामा रहेको प्रहरी सङ्गठनलाई सुदृढ र बलियो बनाउने गरी यसै आर्थिक वर्षमा प्रहरी ऐन ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय परिचयपत्र जनताको घरघरमा पु र्याउन आवश्यक व्यवस्था गर्न लागेको जानकारी दिँदै गृहमन्त्री लेखकले बदलिदो परिवेशमा चुनौतीका रुपमा देखिएका लागुऔषध कारोवार, आत्महत्या, सडक दुर्घटना, अवैध निकासी–पैठारी लगायतका पक्षलाई सम्बोधन गरी जनताको जिउधनको सरक्षासहित मुलुकमा शान्तिसुरक्षा, अमनचयन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
लेखकले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सीमा क्षेत्रमा हुने अवैध धन्दा नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई ३० दिनको समयसीमा तोकी स्पष्ट निर्देशन दिएको जानकारी दिए । (रासस)