काठमाडौं । स्वर्ण लक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनलाई ३७ लाख बिगो मागदाबी गर्दै सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनलाई सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनी मुद्दामा फरार रहँदै आएकी थिइन् ।
यसअघि स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा गत २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यस बखत ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।