लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।
लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटनपछि प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
उनले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे ।
बुद्धकाे सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले बुद्ध दर्शन, बुद्धका सिद्धान्त र ऐतिहासिक महत्त्वका बारेमा खुलेर चर्चा गरे ।
उनले भिक्षु आनन्दप्रति आभार प्रकट गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखी लिपिबद्ध रूपमा सुरक्षित राखिएको स्मरण गरे । त्रिपिटकको पहिलो लिपि म्यूजियममा अझै रहेको जानकारी समेत दिए ।
प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । हिंसाबाट टाढा रहन र मैत्रीभाव तथा करुणाको विकास होस् भन्ने उद्देश्यले काम गरिएको उनको भनाइ थियो ।