काठमाडौं । राजावादी पार्टी, संघसंस्था र व्यक्तिहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आयोजनामा आज भेला भएका राप्रपा, राप्रपा नेपाल, शिवसेना, राष्ट्रिय शक्ति नेपाल, नेपाल प्राज्ञिक केन्द्रलगायतले संयुक्त आन्दोलनको घोषणा गरेको हुन ।
यो आन्दोलनमा बाह्य शक्तिहरुको संलग्नता नरहने बताउँदै सुबेदीले जारी गरेको विज्ञप्तिमा जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न अपिल गरेका छन् । आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरुमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ ।
नेपाली जनताका लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलनले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका तीन माग अघि सारेको छ ।
सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने दाबी गरेका छन् ।
उनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभइ सिंगो देशको भएको जिकिर गरेका छन् । उनले भनेका छन् ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो ।’
गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गर्दै लिङदेनले भने ‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु ।’