काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुष्ठरोग निवारण गर्ने राज्यको प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाइने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण रुपमा उन्मुलन नभएसम्म सन्तुष्ट हुन नसकिने बताएका हुन् ।
निरोगी नेपालको महाअभियानमा कुष्टरोग निर्मुल गर्ने लक्ष्य पनि समेटिएको बताउँदै प्रधानमन्त्री ओलीले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागि हालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएछन् ।
पहिला पहिला मान्यजनले आशीर्वाद दिँदा पाचन प्रणाली राम्रो होस् भन्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आहार–बिहार सही रुपमा गरे स्वस्थ्य रहन सकिने बताए ।
प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् ।
त्यसतै प्रधानमन्त्री ओलीले आफूलाई पञ्चायती शासकले गोलघरको चिसो भुइँमा राखेर यातना दिएका कारण आफ्नो मिर्गौला फेल भएको बताएका छन् । तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको पनि उनले सुनाए ।
प्रधानमन्त्री ओलीले भने ‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ? मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’
एमाले अध्यक्ष समेत रहेका ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको बताउँदै पेनकिलर लगायतका औषधि जथाभावी नखान र आफ्नो स्वास्थ्य जोगाउन कोसिस गर्न सल्लाह पनि दिए ।
आफ्नो स्वास्थ्यमा बिरामी आफैं सजग हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘बिरामीलाई के थाहा हुनुपर्छ भने सजगता भएन भने विकराल रुप लिने खतरा हुन्छ । त्यसले ठूलो बिनास गर्छ ।’