काठमाडौँ । भारत–पाकिस्तानबीच बढेको तनावपछि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा नेपालमा हुनसक्ने सुरक्षा चुनौती र त्यसका लागि नेपालले अपनाउनु पर्ने सतर्कताका बारेमा छलफल भएको छ ।
परिस्थितिलाई नजिकबाट नियाल्ने र आवश्यकता अनुसार योजना बनाउँदै जाने र अहिलेलाई सीमाामा सुरक्षामा निगरानी बढाउने निर्णय भएको छ ।
मंगलबार रातिदेखि भारत–पाकिस्तानबीच बढेको तनावका कारण ती देशमा रहेका नेपाली नागरिकको सुरक्षाको विषयमा पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा तीन सुरक्षा प्रमुख र नेपाली सेनाका रथी निर्मलकुमार थापा सहभागी थिए । नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
पछिल्लो समय बिकशित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदान गरिरहेको पनि सहप्रवक्ता थापाले बताएका छन् ।
उनका अनुसार एउटा बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिरहेको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयले विशेष निर्देशन पनि दिएको छ ।
सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको छ। सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेकोसशस्त्रको दाबी छ ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरेर सीमामा आवतजावत गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईका साथ गरिरहेको दाबी थापाले गरेका छन् ।