काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा क्रुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्षलाई कडा जवाफ फर्काएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले आफूले पनि प्रधान सेनापति, मुख्यसचिव हटाएको सम्झिन आग्रह गर्दै प्रचण्डलाई भने “म कमरेड प्रचण्डलाई भन्न चाहान्छु, तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयो ? अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो । हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो । अनि अर्को मुख्य सचिव ल्याउनु थियो ।”
कर्मचारीलाई हटाउने सरकारको अविशिष्ट अधिकार रहेको र सरकारसँग तालमेल नमिलेपछि एउटा सहसचिव हटाएको बताउँदै सांसद भट्टराईले केपी ओली सरकारले एउटा सहसचिवलाई हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो किन भएको ? भन्ने प्रश्न गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद भट्टराईले सोमवार विपक्षी दलका नेता प्रचण्डले सरकारमाथि लगाएको आरोपको प्रतिवाद गरेका छन् ।
सांसद भट्टराईले देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र तत्कालीन प्रधानमन्त्री प्रचण्ड अग्रपंक्तिमा रहेको बताएका छन् ।
भट्टराईले दमकको बिजनेश टावरको विरोध गर्ने माओवादीले देशैभर भ्यू टावर र शहीद गेटका नाममा बजेट खेर फालेको दाबी गर्दै सुनसरी, मोरङ र झापाको जनसंख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने दावी गरेका छन् ।
माओवादी पहिलो पटक सरकारमा गएकै बेला युवा स्वरोजगार कोषबाट बिना धितो र बिना कागज सहकारीका नाममा गएको करोडौँ रकम अहिले पनि महालेखाले बेरुजुमा राखेको स्मरण गराएका छन् ।