जनकपुरधाम । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद हुँदा कुटाकुटका साथै तोडफोड भएको छ ।
केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर विवाद हुँदा मतदान प्रक्रिया अहिले रोकिएको छ ।
जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भ्रातृ संगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने भएपनि विधान विपरीत परेको उम्मेदवारीमा दावी विरोधको उजुरी पर्दा पनि उम्मेदवारी खारेज नगरेको भन्दै विवाद भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताएका छन् ।
निर्वाचन समितिले अधिवेशन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउन नचाहेको आरोप लगाउँदै यादवले उपसचिवमा उम्मेदवारी दिएका रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको मनोनयन पनि विधानविपरीत रहेको दाबी गरेका छन् ।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै यादव समूह हलभित्रै धर्नामा बसेको छ ।
धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन् । रघुवीरतर्फबाट भोला यादवलाई अध्यक्षमा अधि सारिएको छ ।