सुनसरी । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् ।
उनीसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित भएका हुन् । “मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले भने । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताए।
उनी नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थालेका हुन् । विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दै आएका छन् । उनलाई न आमाबुबा न घरको बारेमा जानकारी छ । यहाँ काम गर्नुअघि उनको नाम चङ्खे थियो । अहिले उनी अर्जुन भुजेलको नामबाट चिनिन थालेका छन् ।
भुजेल एक वर्षदेखि यहाँ काम गर्दै आएका छन् । “आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ”, उनले भने । उनले नागरिकता बनाउन पहल गरिदिन आग्रह गरेका छन्। (रासस)