काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति आलोचना गर्दै त्यसमा कुनै नवीनता नदेखिएको बताएका छन् ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खनालले नीति तथा कार्यक्रम पुरानै शैलीमा सीमित रहेको टिप्पणी गरे । “यसमा कुनै नयाँपन छैन,” उनले भने, “सरकार थाकिसकेको, हारिसकेको र पूर्ण रूपमा कल्पनाशून्य अवस्थामा पुगेको झल्किन्छ।”
उनले पछिल्ला केही दशकयता दोहोरिरहने योजनाहरू नै फेरि देखिएको भन्दै निराशा व्यक्त गरे । “२०७४ सालको निर्वाचनपछि दुईतिहाइको बलियो सरकार हुँदा कम्तीमा सुन्दा आकर्षक लाग्ने हावादारी कार्यक्रमहरू घोषणा भए पनि अहिलेको सरकारले त्यो पनि गर्न सकेको छैन,“ उनले भने ।
खनालका अनुसार वर्तमान सरकारले देशको आवश्यकता अनुसार नविन योजना ल्याउने क्षमता गुमाइसकेको छ । नीति तथा कार्यक्रममा सिर्जनशीलताको पूर्ण अभाव देखिएको उनको आरोप छ ।