काठमाडौँ । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको आ.व. २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउँदा कांग्रेससँग भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको काम अघि बढाउने उल्लेख थियो । तर, सरकार बनेको लामो समयसम्म पनि यसमा काम नगरेको भन्दै सरकारको आलोचना भइरहेका बेला नीति तथा कार्यक्रममा प्रतिवद्धता गरिएको छ ।
नीति तथा कार्यक्रममा संविधान र संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण गर्ने र यसका विरुद्धमा हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने उल्लेख छ ।