काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु मजाकको विषय नभएको बताएका छन् । गएको एसइईको परीक्षामा चित्तबुझ्दो नतिजा नआएको भन्दै असन्तुष्टि जनाएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताएका छन् ।
सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘शिक्षा क्षेत्रमा हामीले प्रयत्न गरेका छौं । हिजो एकजना शिक्षकले बोल्दै गरेको मैले सुनेँ । मलाई गाली गरिरहनुभएको थियो किन गाली गर्नुभएको हो मैले बुझिनँ, यसरी गाली गरिरहनुभएको थियो । उहाँसँग मेरो जिन्दगीमा भेट पनि भएको पनि छैन होला । भेट्या पनि उहाँले छैन होला । तर गाली बेसरी गरिरहनुभएको थियो किन गरेको हो थाहा भएन ।’
ती शिक्षकको भनाइप्रति प्रतिक्रिया दिंदै प्रधानमन्त्री ओलीले भने, ‘कसले सिकायो, कसले घोकायो, कसले पढायो । फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो ?’
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको टिप्पणी गर्दै ५२ प्रतिशत फेल हुने कुरालाई शिक्षकहरुले एकदम इजी लिएको बताए ।
आफूले शिक्षण नगरे पनि शिक्षकको उक्त टिप्पणीले दुःखी बनाएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरू निकै प्रतिभाशाली रहेको पनि उपयुक्त काउन्सिलिङ र अवसर नपाइरहेको बताएका छन् ।