काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको जानकारी दिएका छन् ।
बुधबार दिउँसो सर्वोच्च अदालतका एक कर्मचारीले पठाएको अवैध पत्रको आधारमा चौधरीलाई प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको थियो ।
उक्त पत्र आधिकारिक नभएको पुष्टि भएसँगै सर्वोच्च अदालतले नयाँ पत्र पठाउँदै चौधरीलाई तत्काल रिहा गर्न पत्र पठाएको थियो । सर्वोच्चको पत्रपछि चौधरीलाई रिहा गरिएको हो ।
अवैध पत्र पठाउने सर्वोच्चका शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको अदालत स्रोतले जनाएको छ ।
रेशम चौधरी जनमत पार्टीसँगको एकता घोषणाका लागि बुधबार प्रज्ञा भवन पुगेका थिए । तर उनलाई अचानक पक्राउ गरेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको थियो ।