काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई टीकापुर हत्याकाण्डकै बाँकी कैद भुक्तानका लागि पक्राउ गरेको प्रहरीले बताएको छ ।
चौधरीलाई सर्वोच्च अदालतको २०८० जेठ २ गते भएको फैसलाका आधारमा पक्राउ गरेको पाइएको छ । सर्वोच्च अदालतको रिट तथा मुद्दा महाशाखाले आज उक्त फैसलाको पूर्ण पाठसहित पत्र पठाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो ।
त्यसबखत रेशमलाई जन्मकैद गर्ने मातहत अदालतका फैसला सर्वोच्चले सदर हुने निर्णय सुनाइसकेको भए पनि पूर्ण पाठ आइसकेको थिएन । पछि आएको पूर्ण पाठमा जन्मकैद सजाय तोकिएका व्यक्तिलाई आममाफी दिन नपाइने उल्लेख गरिएको छ । चौधरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका बेला प्रहरीले केही बेवरअघि पक्राउ गरेको थियो ।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका छन् । तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिए पछि उनी रिहा भएका थिए ।
चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । कडायत टीकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन् ।
उनको निवेदन भने सर्वोच्चमा विचाराधीन नै छ । यसको पछिल्लो पेसी गत माघ २७ गते रहे पनि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र विनोद शर्माको इजलास नै नबसेपछि सुनुवाइ हुन सकेको थिएन । त्यसअघि पनि सर्वोच्च प्रशासनले निकै फराकिलो समय राखी पेसी दिइरहेको थियो । अब अर्को पेसी असार १० गते तोकिएको छ।
करिब यस्तै प्रकृतिको रिटमा सर्वोच्च अदालतले राष्ट्रपतिबाट पाएको माफी बदर गर्दै रिगल भनिने योगराज ढकाललाई पुनः कैदमा पठाएको थियो । रिगलको मुद्दामा सर्वोच्चले जन्मकैदको सजायमा मिनाहा नपाइने भन्दै स्वेच्छाचारी निर्णय नगर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
कारागारको रेकर्डमा चौधरीले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि सर्वोच्चले हाललाई कारागार राख्नु भनेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारीले जानकारी दिएका छन् ।
बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाइन लागेको प्रहरीले बताएको छ भने कति जेल सजाय भुक्तानी गर्न बाँकी छ भन्ने चाहिँ अदालतमा पेश गरेपछि थाहा हुने जनाइएको छ ।