काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका उनलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको बताइएको छ । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको छैन ।
चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिएका छन् । जनमतका अध्यक्ष सीके राउत र उन्मुक्तिकी अध्यक्ष रञ्जिता चौधरी पनि कार्यक्रमस्थल पुगेका छैनन् ।
२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए । उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएका थिए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार २०८० जेठ १५ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेर रिहाईको भएको भोलिपल्टै टीकापुर घटनासँग सम्बन्धित पीडित शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी कडायतले दिएको रिटउपर सुनुवाइ सकिएको छैन ।