काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले आज औपचारिक रूपमै पार्टी एकता घोषणा गर्दै छन् ।
दुवै पार्टी लामो समयदेखि एकीकरण प्रक्रियामा जुटेका थिए । एकीकरण प्रक्रियालाई दुवै पार्टीले करिब–करिब टुंगो लगाएका छन् । एकीकृत पार्टीको पहिलो वरीयतामा रेशम चौधरी हुनेछन् । उनी संरक्षकका रूपमा रहनेछन् ।
दोस्रोमा सिके राउत हुनेछन् । उनको पद कार्यकारी समितिको अध्यक्ष हुनेछ । रञ्जिता श्रेष्ठ तेस्रो वरीयतामा हुनेछिन् । उनको पद सहअध्यक्ष हुनेछ । दुई पार्टी मिलेपछि नाम नागरिक जनमत पार्टी हुनेछ । चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टीकै ढकिया हुनेछ । झन्डाका हकमा हाल नागरिक उन्मुक्ति पार्टी र जनमत दुवैले प्रयोग गरिरहेकालाई मिश्रण गरी बनाइनेछ । पार्टी एकीकृत कार्यक्रममै २५ सदस्यीय सचिवालय सदस्य तथा ५१ सदस्यीय कार्यसम्पादन समिति घोषणा गरिनेछ ।
पार्टीको मूल सिद्धान्त सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, विज्ञहरू सम्मिलित गैरसांसद मन्त्री रहने व्यवस्था, प्रधानन्यायाधीशसहित संवैधानिक अंगका प्रमुखहरू जनताबाटै चुनिनुपर्ने, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख हुनुपर्ने र त्यहाँ पनि मन्त्रीहरू गैरसांसद र सानो आकारको प्रदेश सभा हुनुपर्ने लगायत शासकीय स्वरूपको मान्यता उनीहरूले अघि सारेका छन् ।
प्रतिनिधिसभामा जनमत पार्टीका एक प्रत्यक्ष निर्वाचितसहित ६ जना सदस्य र नागरिक उन्मुक्ति पार्टी का चार सदस्य छन् । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जनमत राष्ट्रिय पार्टी बनेको हो । नागरिक उन्मुक्ति पार्टी भने राष्ट्रिय पार्टी बन्न सकेको छैन ।
जनमत र नागरिक उन्मुक्तिबिच एकीकरण पछिको पार्टी तराई–मधेस केन्द्रित ठुलो दल हुनेछ । दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सांसद हुनेछन् ।