काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री पुनको नाम नलिकनै यसअघिका अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दा लाज पचाएर बोल्ने गरेको बताउँदै आफैँ देशको अर्थतन्त्र ध्वस्त पार्ने र आफैँ अर्ती दिँदै हिँड्ने गरेको बताए ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले अघिल्लो सरकारले ध्वस्त पारेको अर्थतन्त्रलाई उठाउने काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले अर्थतन्त्र भताभुङ्ग पारेको, पैसा आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपो नराखेको, ऋणै ऋणमा फसाइदिएको, उखु बेचेका किसानलाई उखुको, दुध बेचेका किसानलाई दुध बेचेको पैसा नदिएको आरोप लगाए । प्रधानमन्त्री ओलीले अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको पनि बताए ।